Breaking News

लम्की बजारको गुट्खा उद्योगमा अज्ञात समूहद्वारा बम विष्फोट

कैलाली, २४ साउन । कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले बम विष्फोट गराएको छ ।

बिहीबार बिहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै सकेट बम विष्फोट भएको हो  ।

ठूलो आवाजमा बम विस्फोटन भएपछि स्थानीयवासीहरू त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको छ । उद्योग संचालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दा लगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि प्राप्त नभएको बताए ।

यही साउन २ गते पनि उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो ।

shares