Breaking News

अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने

काठमाण्डौ, २४ साउन । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउने तयारी गरेको हो ।

विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियारहरू अथवा घातक रसायन प्रयोग गरेको प‍्रमाणित भएकोले सो प्रतिबन्धको तयारी गरेको बताइन् । संसदका रिपब्लिकन सांसदहरूको दबाबपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय कानून तोडेको जनाएको हो ।

रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुनेछ । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिकलगायत प्राविधिक सामानहरूको निर्यात पर्ने जनाइएको छ । स्क्रिपाल र उनको छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब पाँच दर्जन कू‍टनीतिज्ञहरूलाई निष्कासित गरेको ट्रम्प प्रशासनले रुसले अन्तर्राष्ट्रिय कानून तोडेको औपचारिक रुपमा बताएको हो  ।

तर संसदले त्यस्तो निर्णयका लागि दबाब दिँदै आएको थियो र अहिले विदेशमन्त्रालयले रुसले रासायनिक हतियार प्रयोग गरेर सन् १९९१ को कानून तोडेको पुष्टि गरेको हो। त्यस्तो उल्लंघनका लागि कुनै पनि देशमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रोपटक हो ।

उता ब्रिटिश सरकारले अमेरिकाको यो कदमको स्वागत गरेको छ । तर रुसले भने गत मार्च महिनामा स्क्रिपाल र उनको छोरीमाथि भएको हमलामा आफ्नो संलग्नता नरहेको जिकिर गरेको छ ।

राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म यो पछिल्लो कदमबारे कुनै प्रतिक्रिया दिएका छैनन् । अमेरिकाको यो कदमले ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग न्यानो र नयाँ सम्बन्ध विकास गर्न गरेको प्रयासलाई गम्भीर असर पार्न सक्ने देखिन्छ ।

shares