Breaking News

बन्द रहेको जनकपुर–जयनगर रेलको परीक्षण सुरु

धनुषा, २४ साउन । जनकपुर–जयनगर रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरूपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले सो परीक्षण गरेको हो ।

भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले जानकारी दिए ।

जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवत–जावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब कुनै शंका नहुने उनको भनाइ थियो ।

दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड जम्मा भएको थियो ।  भारत सरकारको रु ७ अर्बको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्षभित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।

shares