Breaking News

माधव नेपालका साथ मन्त्री महासेठ सडक अनुगमनमा, भदौ १२ पछि खाल्डाखुल्डी नरहने

काठमाण्डौ, २४ साउन । पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले चावाहील बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमन गरेका छन् ।

सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारीसहित बिहीबार मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयनका अवस्थाका बारेमा अनुगमन गरेका हुन् ।

अनुगमन गर्दै मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । अनुगमनका क्रममा उनले ढल खानेपानी आयोजनाले गरिरहेको कामको पनि जानकारी लिएका थिए । अनुगमनका क्रममा सडक निर्माणका ठेकेदारहरूले १५ दिन भित्र सो सडक खण्डका सबै खाल्डाखुल्डी पुर्ने काम सकिने बताएका थिए ।

मन्त्री महाशेठले जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताए । भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा नरहने भन्दै उनले पिच गर्न समय लागेपनि खाल्डाखुल्डी सबै पुरिने दाबी गरे ।

अनुमगनका क्रममा स्थानीयले भने पानी परेको बेला आफूहरूले निकै कष्टकर यात्रा गर्नुपर्ने भन्दै त्यही बेला अनुगमनमा आउन सुझाव दिएका थिए । सो क्रममा अनुगमनमा सहभागी काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसदसमेत रहेका नेकपा नेता माधव कुमार नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका थिए ।

shares