Breaking News

विधिसम्मत महाधिवेशन गर्न नेविसंघको आह्वान

काठमाण्डौ, २३ साउन । नेपाल विद्यार्थी संघको महाधिवेशन पक्षधरहरूले विधिसम्मत रूपमा महाधिवेशन गर्नका लागि आह्वान गरेको छ ।

बुधबार काठमाडौंमा १२ औं महाधिवेशनको सुनिश्चितताका लागि अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै उनीहरूले बहुमतका आधारमा आफूहरूले महाधिवेशनको मिति तोकेपनि विधिसम्मत रूपमा महाधिवेशन गर्न अझै पनि समय रहेको जनाएको हो ।

कार्यक्रममा नेविसंघ उपाध्यक्ष नविन राईले केही पक्षले महाधिवेशन नगराउने षडयन्त्र गरेको र यसले संगठनलाई कमजोर बनाउने भन्दै बहुमतका आधारमा महाधिवेशनको मिति घोषणा गरेको जानकारी दिए । उनले महाधिवेशन नचाहनेहरूलाई पनि महाधिवशेनमा सामेल हुन वा विधिसम्मत रूपमा महाधिवेशन गर्न सुझाव दिए ।

त्यस्तै महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई स्वाभिमानी र शक्तिशाली बनाउन महाविधेशन गर्न लागेको बताए । उनले महाधिवेशनबाट नभई कोठे निर्णयबाट पदाधिकारी चयन भए केन्द्रदेखि तल्लो तहसम्म समानान्तर समिति गठन हुने चेतावनी दिए ।

अध्यक्ष लगायतका केही पक्षधरले एकलौटी गर्दै अगाडि बढ्न खोजेको भन्दै असन्तुष्ट पक्षधरले महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

shares