Breaking News

राजपाले आफ्नो मुद्धाका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्ने

काठमाण्डौ, २३ साउन । राष्ट्रिय जनता पार्टी नेपालले आफूहरूको मुद्धा सरकारले सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ ।

पार्टी कार्यालय बबरमहलमा बुधबार बसेको राजपा अध्यक्षमण्डलसहित शीर्ष नेताको बैठकले आफ्नो मुद्धाका विषयमा बिहीबार पार्टीका अध्यक्षमण्डलले प्रधानमन्त्रीसंग छलफल गर्ने र आवश्यक निर्णय गर्ने निर्णय गरेको हो ।

संविधान संशोधन, आफ्ना नेतामाथि लागेका मुद्धा फिर्ता हुनुपर्ने लगाएका माग सम्बोधन नभएको भन्दै पछिल्लो समय राजपाले सदनमा चर्को आवाज उठाउँदै आएको छ ।

बैठकले संघीय तथा प्रादेशिक संसदमा सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउन ओरेन्टेशन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ भने महाधिवेशनका लागि तयारी अवस्थामा रहन जिल्ला कमिटिलाई सर्कुलर जारी गर्ने निर्णय पनि गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

बैठकले जिल्लाको बैठक निरन्तर गराउने र निर्णय केन्द्रलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । राजपाले यसअघि नै आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

shares