Breaking News

‘पछिल्लो समय मुलुकमा शान्ति, सुरक्षाको अवस्था नाजुक’

काठमाण्डौ, २३ साउन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । पछिल्लो समय अपराधका घट्नाहरू जताततै घटिरहेका भन्दै उनले जनताले शान्ति, सुरक्षाको अनुभुति गर्न नसकेको बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आयोगमा पछिल्लो समय हत्या, हिंसा र बलात्कारजस्ता आपराधिक घट्नाका उजुरीहरू बढेको पनि जानकारी दिए । आपराधिक घट्नाको अनुशन्धानमा खटिने प्रहरी अधिकृतहरूलाई पर्याप्त उपकरणसहित विशेष तालिमको व्यवस्था गर्नुपर्नेमा उनले बताए ।

पाठकले सम्बन्धित निकायले बलात्कारको घट्नामा मिलापत्रको लागि दबाब दिनु गलत भएको भन्दै यस्तो गलत दबाब दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा समेत राखे । त्यस्तै उनले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको पनि आयोगले क्षेत्रीय कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिए ।

त्यस्तै कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारको दरिलो उपस्थिति नहुँदा र भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था गर्न नसक्दा बलात्कारजस्तो जघन्य अपराध र सामाजिक अपराधका घट्नाहरू बढिरहेको बताइन् । सांसद संग्रौलाले पितृसत्तात्मक सोचका कारण पुरुषहरूले महिलाहरूलाई वस्तुको रूपमा लिएकोले बलात्कार लगायतका महिला हिंसाका घट्नाहरू घटिरहेको बताइन् ।

साक्षात्कारमा नेपाल बार एशोसिएशनकी उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बलात्कारका घट्नामा संलग्न दोषीलाई आजीवन जेल सँजाय दिनुपर्ने बताइन् । बलात्कारमा संलग्न दोषीहरूलाई मृत्युदण्ड दिने कि भन्नेबारे अहिले बहस सुरु भएपनि संविधानामा त्यस्तो व्यवस्था नभएकोले अहिले मृत्युदण्ड दिन नमिल्ने उनको भनाइ छ ।

shares