Breaking News

विश्व बैंकले नेपाललाई गर्दै आएको सहयोग वार्षिक कम्तिमा १५ प्रतिशतले बढाउने

काठमाण्डौ, २३ साउन । विश्व बैंकले नेपाललाई गर्दै आएको दीर्घकालीन सहयोग वार्षिक कम्तिमा १५ प्रतिशतले बढाउने भएको छ ।

नेपालमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिका लागि सबैभन्दा ठूलो बहुपक्षीय दातृ निकायले आफ्नो सहयोग बढाउने भएको हो । नेपालमा विश्व बैंकको सहयोगको पोर्टफोलियो २ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरै छ । उसको सहयोगमा २३ वटा आयोजना चलिरहेका छन् ।

सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सह सचिव श्रीकृष्ण नेपालसहितको तीन सदस्सीय प्रतिनिधिमण्डलले भाग लिएका तीन दिनसम्म चल्ने नेपाल र विश्वबैंकको नेपाल सहायता सम्बन्धी उच्चस्तरीय बैठकमा दीर्घकालीन सहयोग जनाइएको हो ।

अर्थमन्त्रीले नेपालको विकास साझेदारी खाका सम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकहरूको स‌ंयुक्त बैठकलार्इ आजै स‌ंबोधन गर्दै नेपालमा विकासका चुनौती र अवसरहरूको चर्चा गर्दै आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे ।

उनले नेपाललार्इ आगामी सन् २०२२ मा अतिकम विकसित राष्टबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको, नेपालले निरन्तर सुधारलार्इ अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताए ।

त्यस्तै विश्व बैंकको मुख्यालय वासिङ्टन डी. सी. मा अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हार्ट्विग सेफरबीच भेटवार्ता सम्पन्न भयो । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगिकार गरेका संघीयता कार्यान्वयनको सन्दर्भ उठाए ।

shares