Breaking News

पहिलो अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग १-० ले पराजित

काठमाण्डौ, २२ साउन । आसन्न १८ औं एसियन गेम्स् र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

बैंककमा आज सम्पन्न पहिलो अभ्यास खेलमा थाई प्रिमियर लिग क्लब पुलिस तेरो फुटबल क्लबको बी टिमसँग २३ वर्ष मुनिको नेपाली टोली १-० गोलले पराजित भएको हो । सिनियर खेलाडीहरूलाई विश्राम दिइएको खेलमा नेपाली युवा टोलीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

खेलको ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस तेरोले पहिलो हाफमै १ गोलको अग्रता बनाएको थियो । बल क्लियर गर्ने क्रममा आदित्यको प्रहारको बलले आफ्नै पोष्टको दिशा लिएपछि नेपाल १ गोलले पछि परेको हो ।

नेपालले अब शुक्रबार थाइल्याण्डको २३ वर्ष मुनिको राष्ट्रिय टोलीसँग दोस्रो अभ्यास खेल खेल्नेछ । १० दिने थाइल्याण्ड प्रशिक्षणपछि नेपाली टोली सोझै एसियन गेम्सका लागि इण्डोनेशियातर्फ लाग्नेछ । एसियन गेम्स्को समूह डीमा रहेको नेपालले लिग चरणमा तुलनात्मक रूपमा बलियो प्रतिद्वन्दी जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

एसिएन गेम्स् भदौ २ गते औपचारिक रूपमा सुरु हुने भएपनि फुटबल भने केही दिन अघिबाट सुरु हुनेछ । त्यस्तै, यही भदौ १९ देखि ३० गतेसम्म बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समुह ए मा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् भने भारत, माल्दिभ्स र श्रीलंका समुह बी मा छन् ।

shares