Breaking News

सम्झौता कार्यान्वयन गर्न सरकारलार्इ डा. केसीको अाग्रह

काठमाण्डौ, २२ साउन । डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौताहरू तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुई साताको उपचारपछि मंगलबार डिस्चार्ज भएका डाक्टर केसीले मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई स्मरण गराएका हुन् । डाक्टर केसीले आफ्नो १५ औं अनशन तोडाउने क्रममा भएका सहमति कार्यान्वयन प्रक्रिय अगाडि बढाउन सरकारसँग आग्रह गरे ।

केसीले साउन १० गते आफूसँग भएका सहमति र सत्तारुढ दलका जिम्मेवार नेताहरूको प्रतिबद्धता अनुसार चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी शीघ्र पारित गराउने समेत विश्वास व्यक्त गरे । निकै भावुक हुँदै केसीले आफू बिरामीको सेवामा रमाउने मान्छे भएकाले ६ हप्तासम्म पनि बिरामीको सेवा गर्न नपाएका कारण दुख लागेको बताए ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार कार्यान्वयनको मागसहित डाक्टर केसी पछिल्लो पटक असार १६ गते देखि १५ औं अनशन बसेका थिए । उनको अनशन तोडाउन साउन १० गते सरकारले ९ बुँदे सहमति गरेको थियो ।

shares