Breaking News

संसदको सर्वोच्चता स्थापनाका लागि सुनुवाइ समितिलाई विशेष महत्व: दाहाल

बारा, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाइ विशेष समितिलाई विशेष महत्व दिइएको प्रष्ट पारेका छन् ।

मंगलबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसंग नेकपा अध्यक्ष दाहालले संसदको सर्वोच्चता स्थापना गर्नका लागि पहिलोपटक संसदीय सुनुवाइ समितिलाई विशेष महत्व दिइएको बताए । उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पारे । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा उनले पार्टीभित्र कुनै प्रकारको असन्तुष्टि नरहेको र नेता श्रेष्ठ प्रवक्ताकै जिम्मेवारीमा रहेको बताए ।

दाहालले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने पनि बताए । साउन २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने उनको भनाइ छ ।

shares