Breaking News

प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धिका लागि एकजुट हुनुपर्छ: स्वास्थ्यमन्त्री

भक्तपुर, २२ साउन । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

विगतमा भाषा, लिंग, जाति, वर्ग र क्षेत्रका आधारमा विभेद गरिएको भन्दै उनले अब सबै खालको विभेदहरूको अन्त्य गरेर अघि बढ्नुपर्ने बताए । आज भक्तपुरमा आयोजित संघीय समाजवादी फोरम नेपाल भक्तपुर नगरको भेलामा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले विगतमा एउटै भाषा र एउटै संस्कृतिको नीतिले गर्दा मुलुकका अन्य भाषा र संस्कृतिमाथि विभेद भएको बताए । उनले संविधान संशोधन गरी सबै खालका राष्ट्रिय मुद्दाहरूको सम्बोधन गरिने प्रतिबद्धता आएकाले नै आफ्नो पार्टी सरकारमा सहभागी भएको प्रष्ट पारे ।

‘हामी संविधान संशोधन र राष्ट्रिय मुद्दाहरूको सवालमा राज्यले सम्बोधन गर्ने प्रतिबद्धताको आधारमा सरकारमा सहभागी भएका छौं,’ अध्यक्ष यादवले भने, ‘अब संविधान संशोधन गरेर मुलुकको यावत् समस्याहरूको समाधान गर्नुपर्छ ।’

भेलामा पार्टीका सहअध्यक्ष तथा संघीय सांसद राजेन्द्र श्रेष्ठले समेत आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा आङ देण्डी शेर्पा, लाक्पा शेर्पा, विरेन्द्र प्रधानलगायत पार्टीका नेताहरूको सहभागिता थियो ।

भेलाको उद्घाटन अघि सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा र्‍यालीसहित भक्तपुर नगरको परिक्रमा गरिएको थियो । भेलाबाट १६ सदस्यीय भक्तपुर नगर समिति गठन गरिएको छ ।

shares