Breaking News

राष्ट्रियसभा अन्तर्गतका समितिहरू क्रियाशील

काठमाण्डौ, २२ साउन । संघीय संसद सञ्चालन भएको करिब ५ महिनापछि राष्ट्रियसभा अन्तर्गतका समितिहरू क्रियाशील भएका छन् । मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका चारवटै समितिको पहिलो बैठक समेत बसेको छ ।

राष्ट्रियसभाका विषयगत समिति अन्तर्गत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठकमा समिति सदस्यको परिचयका साथै समितिका कार्यक्षेत्रका बारेमा सामान्य छलफल भएको थियो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सहजीकरण गरेका थिए । लामो समय समिति गठन नहुँदा सांसदहरूले राष्ट्रिय तथा जनसरोकारका विषयमा छलफल गर्न पाएका थिएनन् । समिति क्रियाशील भएसंगै आम चासोका विषयले महत्व पाउने र सरकारका गतिविधिबारे गहन छलफल हुने संसद सचिवालयले जनाएको छ ।

shares