Breaking News

एकदिवसीय सिरिज खेल्न नेपाली यू-१९ टोलीलार्इ भारतको निम्तो

काठमाण्डौ, २२ साउन । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू-१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई अामन्त्रण गरेको छ ।

कोलकातामा सेप्टेम्बर ९ देखि २० सम्म हुने प्रतियोगितामा भारत र अफगानिस्तानको यू-१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोलीको पनि सहभागिता रहनेछ ।

एकदिवसीय सिरिज खेल्न बीसीसीआईले निम्तो गरेको नेपालका यू-१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । यू-१९ का केही सदस्य राष्ट्रिय टोलीमा पनि छन् र हालै मात्र नेदरल्याण्ड्स टुरबाट फर्किएका छन् ।

तत्कालै एसिया कपको छनोटका लागि बन्द प्रशिक्षण सुरु हुने हुनाले राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई यू-१९ मा नराख्ने सोच बनाएको र खेलाडी छनोटका आधारबारे छलफल भइरहेको प्रशिक्षक दासले बताए ।

नेपालले प्रतियोगितामा सहभागी हुनेबारे छलफल गरिरहेको भएपनि प्रतियोगिताको सबै तालिका तय भइसकेको छ । चार टोलीले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने जनाइएको छ ।

shares