Breaking News

अविरल वर्षाको कारण भक्तपुर डुबानमा

भक्तपुर, २१ साउन । आइतबार राति र सोमबार बिहान परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्र, सल्लाघारी र भक्तपुर–ललितपुरको सिमाना जोडिएको टिकाथली क्षेत्र बस्ती डुबानमा परेको छ ।

बाढीको निकास नहुँदा यो क्षेत्र डुबानमा पर्ने गरेको छ । शनिबार राती परेको वर्षाका कारण हिजो आइतबार पनि यो क्षेत्र डुबानमा परेको थियो । भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो ।

राधे राधे क्षेत्रका करीब ७० घर, सल्लाघारीका ३० र टिकाथलीका १२ घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए । पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन् ।

पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ । अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ । त्यस्तै हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, डा इवामुरा अस्पताल, अक्सफोर्ड स्कूललगायत क्षेत्र डुबानमा परेको छ ।

shares