Breaking News

प्रहरीद्वारा चोरीका १८ सवारी साधन बरामद, गिरोहका ६ जना नियन्त्रणमा

खग प्रसाद चापागाई/कपिलवस्तु, २१ साउन । कपिलवस्तु प्रहरीले पछिल्लो एक महिनाको अवधिमा चोरीका १८ वटा सवारी साधन बरामद गरेको छ । बरामद भएकामा १६ थान मोटरसाईल र २ थान स्कुटी रहेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा मोटरसाईल चोरीमा संलग्न गिरोहका ६ व्यक्तिलाई नियन्त्रणमा लिएसँगै चोरीका उक्त परिमाणको मोटरसाईकल बरामद भएको हो । बरामद अधिकांस मोटरसाईकलमा नक्कली नम्बर प्लेट र भारतीय नम्बर प्लेट राखेको भेटिएको छ । प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहका ६ व्यक्तिलाई चोरी मुद्दा चलाई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

यसैबीच प्रहरीले बरामद गरेको युपी ५५ पि ५२१२ नम्बरको स्पलेन्डर मोटरसाईकल भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बढनी थानामा कार्यरत प्रहरी शिव कुमार प्रजापतिको रहेको खुल्न आएपछि प्रहरी उपरीक्षक मनोज कुमार यादवले सो मोटरसाईकल हस्तान्तरण गरेका छन् ।

दुई महिनाअघि आफ्ना आफन्तीले तौलिहवा बजार आउँदा बजारमा पार्किङ्ग गरेका बेला चोरी भएको मोटरसाईकल बरामद गरी दिएकोमा उनले प्रहरीलाई धन्यवाद दिए ।

पछिल्लो समय आफूहरूले मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिई २ थान स्कुटी र १६ थान मोटरसाईकल बरामद गर्न सफल भएको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए । उनले नागरिकले अपराधका घटनाको सूचना प्रहरीलाई दिने कार्यले यस्ता अपराधलाई निरुत्साहित पार्ने प्रष्ट पारे ।

shares