Breaking News

‘नेपालको परराष्ट्रनीतिलाई बहसका रूपमा लैजाने’

काठमाण्डौ, २१ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको परराष्ट्रनीतिलाई बहसका रूपमा लैजाने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको पहिलो बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले परिवर्तित सन्दर्भमा विदेश नीतिका बारेमा अध्यनन भइरहेको भन्दै यस विषयलाई बहसका रूपमा लैजाने बताएका हुन् ।

उनले परराष्ट्रनीतिलाई संसदीय समिति र आवश्यक परे राष्ट्रिय बहसमा लैजाने र साझा धारणा बनाउने प्रयास गर्ने बताए । परिवर्तित सन्दर्भमा १९९०, २००६ र २०१५ को परिवर्तनपछि परराष्ट्रनीतिका तीनवटा महत्वपूर्ण दस्तावेज निर्माण भएको त्यसमा मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ । उनले संक्रमणकाल अन्त्य भइसकेपछि मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै यसलाई मध्यनजर गर्दै परराष्ट्रनीतिका विषयमा छलफल हुने धारणा राखे ।

बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य माधवकुमार नेपालले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई मजवुत बनाउनका लागि समितिको भूमिकालाई केन्द्रित गर्नुपर्ने बताए । उनले परराष्ट्र नीतिका विषयमा साझा धारणा तय हुन नसकेको भन्दै यसमा साझा धारणा आवश्यक रहेको जिकिर गरे । बैठकमा सांसदहरूले परिचयात्मक कार्यक्रमका साथमा बैठक सञ्चालनका लागि सुझाव दिएका थिए ।

shares