Breaking News

कोरिया जाने नेपाली कामदारहरूको हवार्इ भाडा घट्यो

काठमाण्डौ, २१ साउन । दक्षिण कोरिया जाने नेपाली कामदारहरूको हवाई भाडा २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको छ ।

आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको हो ।

यसअघि नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाइ भाडा बापत ५ सय ३० अमेरिकन डलर तिर्दै आएका थिए । अब भने कामदारले हवार्इ भाडा बापत ४ सय ११ अमेरिकी डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै तिर्नु पर्नेछ ।

सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडा बापत सम्बन्धित ट्राभल एजेन्सीलाई बुझाउनु पर्थ्यो । २०७३ पुसदेखि भने कामदारले ५ सय २९ दशमलव ७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए ।

उक्त प्रणालीबाट करिब ८ हजारको संख्यामा कोरिया रोजगारीका लागि नेपाली कामदार जाने गरेका छन् । हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ बचत हुने भएको छ ।

shares