Breaking News

हातमा लालपूर्जा हुँदा पनि घरजग्गाविहिन बन्दै डेढ सय परिवार

किरण न्यौपाने/रंगेली, २१ साउन । मोरङको रंगेली नगरपालिका १ ववियाविर्ताका करिब डेढ सय परिवार हातमा जग्गाधनी पूर्जा हुँदासमेत घर जग्गाविहिन हुने अवस्थामा पुगेका छन् ।

करिब १५ वर्षदेखि स्थानीयलाई जग्गा बिक्री गरी रजिष्ट्रेशन पास गर्दै आएका विराटनगर निवासी घाडेवा परिवारबीच आन्तरिक किचलो र अंश मुद्दाका कारण स्थानीय डेढ सय घरजग्गाविहिन हुृने अवस्थामा पुगेका हुन् । स्थानीयलाई पवन धाडेवा, युवराज धाडेवा, भरवलाल घाडेवा, विरेन्द्र घाडेवासमेत मिलीे चलनचल्तीको दरदाममा जग्गा बिक्री गर्दै आएका थिए ।

धाडेवा परिवारसंग खरिद गरेका जग्गामा स्थानीय पीडितहरूले आफ्नो घरबास गरी जग्गा जोतभोक गर्दै आएका थिए तर अंशवण्डाको मुद्दा सर्वोच्च अदालतले फैसला गरेपछि धाडेवा परिवारका अंशियारमध्ये अजय घाडेवाले मालपोत कार्यालय रंगेलीबाट स्थानीयको नाममा रजिष्ट्रेशन पास भई गएको जग्गासमेत दर्ता खारेज गरी आफ्ना परिवारको सदस्यको नाममा प्रक्रिया मिलाएर नामसारी गरेपछि स्थानीय परिवार बिचल्लीमा परेका हुन् ।

स्थानीय बिनिता कुमारी खा थारुले भनिन्, ‘हिजो घाडेवा परिवारले नै हामीलाई जग्गा बेचेका हुन् हामीले त्यै जग्गामा घर बनाएर जीविका चलाउँदै बस्दै आएका छौं, अहिले हामीलाई थाहपत्तो नदिई हाम्रो जग्गा दर्ता खारेज गरेर बिजोग बनाए ।’

पीडित स्थानीयबासीले आक्रोशित हुँदै आइतबार मालपोत कार्यालय घेराऊ गर्दै विरोध गरेका छन् । मालपोत कार्यालय रंगेलीले मिति २०७५ साल साउन ४ गते साविक ववियाविर्ता ७ “क” को १९ वटा कित्ता दर्ता खारेज गरी धाडेवा परिवारकी किरण देवी धाडेवाको नाममा दर्ता गरेका छन् । धाडेवा परिवारको कर्तुत स्थानीय पीडितहरूले एक साताअघि मात्र थाहा पाएका हुन् ।

पीडित स्थानीयहरूले घटना थाहा पाए लगत्तै रंगेली नगरपालिका कार्यालयस्थित न्यायिक समितिमा कमल घाडेवा, अजय घाडेवा समेत मिलेर आफूहरूलाई थाहा नदिर्इ आफ्नो परिवारका सदस्यको नाममा धनीपूर्जा निकालेर ठगी गरेको भनी उजुरी गरेका छन् ।

५ दाजुभाइ रहेका धाडेवा परिवारका संजय कुमार धाडेवा समेतको अंशमुद्दामा युवराज धाडेवा समेतलाई प्रतिवादी बनाई २०५२ सालमा दोस्रो पटक मुद्दा गरेपछि २०६२ साल वैशाख २१ सर्वोच्च अदालतको फैसला अनुसार वण्डा मुचुल्कासहित जिल्ला अदालत मोरङले मिति २०७० साल माघ १० गते पत्रसहित १ सय ४० कित्ता जमिन दर्ता खारेज गर्न मालपोत कार्यालय रंगेलीलाई पत्राचार गरेपछि मालपोत कार्यालय रंगेलीले मिति २०७३ साल साउन २ गते ५७ वटा दर्ता खारेज गरेको छ भने दोस्रो पटक मिति २०७५ साल साउन ४ गते १९ वटा कित्ता दर्ता खारेज गर्दा जग्गा धनीपूर्जा हातमा भई घर बनाई बसोबास गरी रहेका परिवारको समेतको जग्गा दर्ताखारेज भई धाडेवा परिवारको नाममा नामसारी भएपछि स्थानीय मालपोत कार्यालय रंगेली घेराऊ गर्न पुगेका हुन् ।

धाडेवा परिवारको साविक ववियाविर्ता गाविस वार्ड नं ७, ८ र ९ हाल रंगेली नगरपालिका १ मा करिब २ सय २८ बिगाह जमिनमध्ये हाल स्थानीयहरूले करिब १ सय ८२ बिगाह खरिद गरेर जोतभोक बसोबास गरिरहेका छन् । ती जमिन गुम्ने अवस्थामा पुगेको पीडितहरूको भनाइ रहेको छ । धाडेवा जमिनदार परिवार हुन् ।

धाडेवा परिवारबाट पीडित भएका स्थानीय दोर्ण बहादुर कार्कीले आफूले २०६० सालमा पवन धाडेवाको पत्नी रेखा देवी धाडेवासंग जग्गा खरिद गरी हिजोसम्म मालपोत रकम तिर्दै आएकामा अहिले एक्कासी सोधखोज नगरी आफ्नो नामको जग्गा अजय धाडेवाको आमा किरण देवीको नाममा नामसारी गरी दाजुभाइको झमेलामा आफूहरूलाई सुकुम्बासी बनाएको बताए । उनले भने –दाजुभाइको अंश झमेला थियो भने किन हामीलाई जग्गा बेचियो ? किन जग्गा रोक्का नगरी पैसा लिएर जग्गा बेचियो?’

जग्गा जालसाज ठगी आरोपमा रंगेली न्यायिक समितिमा उजुरी परेका अजय धाडेवाले आफूले कानून बमोजिम आफ्नो हक पाएको प्रतिक्रिया दिएका छन् । उनले भने सबै धाडेवा परिवार मिलेर स्थानीयलाई पीडित बनाएको भन्न नमिल्ने तर्क राखे ।

यता मालपोत कार्यालयका प्रमुख उत्तम श्रेष्ठले आफूहरूले अदालतले फैसला गरेको आदेशको कार्यान्वयन गरेको बताए । उनले अदालतले दर्ता गरीदिनू भनेर कित्तासहित पत्र पठाएकाले दर्ता खारेज गरेको बताउँदै त्यसले अहिले समस्या उत्पन्न भएकाले पछिल्लो समय मालपोत कार्यालय रंगेलीले निर्णय गरेको १९ वटा कित्ता दर्ताखारेज बदर गर्ने र साविककै धनीको नाममा दर्ता कायम गर्ने भनी स्थानीय पीडितसंग सहमति भएको बताए ।

मालपोत रंगेलीका मुद्दा शाखाका नासु अरुण पिठाकोटेले अदालतले सोझै कसैको नाम नखुलाई कित्ता नम्बर उल्लेख गरी नामसारी गरिदिनू भनी पत्र पठाएकाले अहिले समस्या देखिएको बताए ।

यता रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाले अदालतमा अंश मुद्दा हुँदा जग्गा रोक्का हुनुपर्ने हो तर किन र कसरी रोक्का नभई बिक्री भयो घटनाको वास्तविकता खोजबिन भई रहेकाले स्थानीय किसान परिवारहरूलाई कसैले पनि बिचल्लीमा पार्न नहुने बताउँदै सोझा सिधा किसानले रकम तिरेर जग्गा खरिद गरेकाले यदि किसान परिवार पीडित हुनुपर्ने अवस्था रहे अहिलेको चलनचल्ती बमोजिम क्षतिपुर्ति पाउनुपर्ने र न्यायिक समितिले आवश्यक छलफल गरेर निर्णय लिने बताए ।

shares