Breaking News

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाण्डौ, २१ साउन । पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्सविरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्केको छ ।

ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन् ।

नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोलीमध्ये कप्तान पारससहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनरसहित १८ सदस्यीय टोली फर्किएका हुन् । स्वदेश फर्केपछि नेपाली टोलीका कप्तान पारस खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पहिलो एक दिवसीय क्रिकेट नेपालका लागि ऐतिहासिक बनेको बताए ।

उनले आउँदा दिनमा नेपालले धेरै खेल्न र गर्न बाँकी रहेको बताए । तर अझै पनि खेलमा सुधार गर्न भने बाँकी रहेको बताए । उनले अब आफूहरूको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।

पहिलो पटक ओडिआई मान्यता पाएको साढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो । नेपालले अब यसै अगष्टको अन्तिममा एसिया कप छनोट खेल्दैछ । उक्त छनोटबाट विजेता हुने टोली एसिया कपको लागि छनोट हुनेछ ।

सन् १९९६ देखि अन्तराष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो ।

shares