Breaking News

राष्ट्रियसभामा शोकप्रस्ताव पारित

काठमाण्डौ, २१ साउन । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा राष्ट्रियसभाले शोकप्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकले पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पूर्व सांसद पंगेनीको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले एक मिनेट मौन धारण समेत गर्यो ।

पंगेनीको हृदयघातका कारण आइतबार बिहान ५ बजेर ३० मिनेटमा स्याङजास्थित निवासमा निधन भएको थियो । उनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गरेका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए ।

राष्ट्रियसभाको अर्को बैठक २३ गते बुधबार ११ बजे बस्ने छ ।

shares