Breaking News

न्यायलयको बाटो छेकेर नबस्न जोशीलाई कर्णको सुझाव

काठमाण्डौ, २० साउन । संसदीय सुनुवाइ विशेष समितिका सभापति एवं राजपा नेता लक्ष्मणलाल कर्णले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई न्यायलयको बाटो छेकेर नबस्न सुझाव दिएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वीकार गर्दै अर्को प्रधानन्यायाधीशका लागि बाटो खुल्ला गरिदिन सुझाव दिएका हुन् । ससंदीय सुनुवाइले अस्वीकृत गर्दा पनि पद छाड्दिन भन्नु संविधान विपरीतको अभिव्यक्ति भएको उनको भनाइ छ ।

उनले नियुक्तभन्दा अघि नै न्यायाधीशको रेकर्ड जाँच गर्न न्यायपरिषद्लाई सुझाव पनि दिए । समितिले आफ्नो अधिकार कानूनबमोजिम उपभोग गरेको उनले बताए । उनले संसदीय विधि र प्रक्रियाबाटै समितिले कामु प्रधानन्यायाधीश जोशीलाई दुई तिहाईले अस्वीकार गरेको स्पष्ट पारे ।

कांग्रेसका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सदस्य भीमसेनदास प्रधानले नेकपाले सुनुवाइ समितिमा दुई तिहाईको दम्भ देखाएको पनि आरोप लगाए । उनले अहिले सुनुवाइ समितिको औचित्यमाथि पनि प्रश्न खडा भएको बताए । त्यस्तै नेकपाका नेता देवेन्द्र पौडेलले सुनुवाइ समितिको अभ्यास परिवर्तित समय अनुसार नयाँ भएको भन्दै यसमा अनौठो मान्नुपर्ने कुनै कारण नभएको बताए ।

न्यायपालिकालाई कानून दिने ठाउँ संसद नै भएको भन्दै उनले सदनको कामकारवाहीलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे ।

shares