Breaking News

हिमालय टेलिभिजनको सम्पादकमा विनोद ढुङ्गेल नियुक्त

काठमाण्डौ, २० साउन । हिमालय टेलिभिजनको सम्पादकमा वरिष्ठ पत्रकार विनोद ढुङ्गेल नियुक्त भएका छन् । टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले आइतबार सम्पादक ढुङ्गेललाई औपचारिक रुपमा टेलिभिजनमा स्वागत गरे ।

विगत तीन दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय ढुङ्गेलले नेपाल समाचारपत्र, रेडियो नेपाल, कम्युनिकेशन कर्नर, नेपाल टेलिभिजन, नेपाल एफएम लगायतका सञ्चार माध्यममा आवद्ध भएर काम गरिसकेका छन् ।

विभिन्न पुस्तकको लेखन तथा सम्पादनसमेत गरेका उनी मिडिया अनुसन्धान, प्रशिक्षण, प्राध्यापनमा पनि सक्रिय छन् । सम्पादकका रूपमा कार्यभार सम्हाल्दै ढुङ्गेलले टेलिभिजन पत्रकारितालाई नयाँ ढङ्गले अघि बढाउन प्रयास गर्ने जानकारी दिए ।

टेलिभिजन पत्रकारितालाई थप गतिशील र प्रभावकारी बनाउने आफ्नो चाहना व्यक्त गर्दै उनले यसमा सबैपक्षबाट सहयोग पाउने विश्वास व्यक्त गरे । सञ्चार माध्यममध्ये सबैभन्दा प्रभावकारी टेलिभिजन नै भएकोले यसमा प्रसारण हुने सामग्रीको गुणस्तर बढाउन ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

सम्पादकको स्वागतमा आयोजित कार्यक्रममा टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले एक वर्ष भित्रै हिमालय टेलिभिजनलाई उत्कृष्ट बनाउने उद्देश्य रहेको बताए ।

कार्यकारी निर्देशक श्याम कँडेलले अनुभवी र दक्ष पत्रकार तथा चुस्त व्यवस्थापनको संयोजनबाट हिमालय टेलिभिजनले आफ्नो उद्देश्य हासिल गर्ने विश्वास व्यक्त गरे ।

हिमालय टेलिभिजन यही साउन १ गतेबाट नयाँ व्यवस्थापनले सम्हालेसँगै सम्पादकका रूपमा ढुङ्गेलले जिम्मेवारी सम्हालेका हुन् ।

shares