Breaking News

पूर्वसांसद पंगेनीको निधनमा सदनमा शोकप्रस्ताव पारित

काठमाण्डौ, २० साउन । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा प्रतिनिधिसभाले शोकप्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा सर्वसम्मतमा शोकप्रस्ताव पारित गरेको हो । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गरेका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए ।

पंगेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयघात भई निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक साउन २१ गते सोमबार दिनको २ बजे बोलाइएको छ ।

shares