Breaking News

नयाँ बन्ने कानूनमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने

काठमाण्डौ, १८ साउन । सरोकारवालाहरूले नयाँ बन्ने कानूनमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा मुलुकी ऐन निर्माण गरिरहँदा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने बताएका हुन् ।

विभिन्न बहानामा पटक पटक प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्ने गरेको भन्दै अब भने यस विषयमा सचेत रहनुपर्ने बताएका छन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेस स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रतामा फरक रहेको भन्दै यस विषयलाई बिशेष ध्यान दिनुपर्ने बताए ।

त्यस्तै उनले अहिले विद्युतीय कारोवार ऐन पनि क्रियाशील भइरहेको अवस्थामा सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कानूनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने कानून निर्माण हुन लागेको जानकारी आएको भन्दै सांसदहरू र सञ्चारसम्बद्ध क्षेत्रबीच छलफल भएपछि मात्र कार्यान्वयनमा ल्याउन जरुरी रहेको धारणा राखे ।

कार्यक्रममा विभिन्न दलका सांसद, कानूनविद्, महासंघका पूर्व अध्यक्ष लगायतले पूर्ण प्रेस स्वतन्त्रततासहितका कानून तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

shares