Breaking News

कलाकार एन्जिलाको ‘एरिका बुटिक’ संचालनमा

निरज तामाङ/काठमाण्डौ, १८ साउन । कलाकार एन्जिला गौतमले आफ्नो व्यवसायमा थप एक फट्को मारेकी छिन् । विगत ५ वर्षदेखि नेपाली कलाकारिता र फेसन शो आयोजना गर्दै गार्मेन्ट व्यवसायमा हात हालेकी एन्जिलाले बिहीबार काठमाडौंको धुम्बाराहीमा एरिका बुटिक संचालनमा ल्याएकी छिन् ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली नायिका वर्षा शिवाकोटीले उक्त बुटिकको उद्धघाटन गरेकी थिइन् । साथमा नेपालका अन्य विशिष्ट कलाकारहरू तथा रंगकर्मीहरूको उपस्थिति थियो । कलाकारिता क्षेत्रलाई केही विश्राम दिदैं व्यावसायमा हात हालेकी गौतमले आफू यो अवस्थासम्म आइपुग्नुमा सबैको साथ सहयोगले सम्भव भएको बताइन् ।

उनले भनिन्, ‘ सानो लगानीबाट सुरु गरेको यो व्यवसाय अहिले लाखौं लगानी र केहीलाई रोजगारीसमेत दिन सफल भएको छु, यसमा म धेरै खुसी छु।’

उनले आगामी दिनमा सफलता मिले देशका अन्य शहरहरूमा समेत बुटिक संचालन गर्ने उदेश्य रहेको बताइन् ।

एन्जीला भन्छिन्, “व्यापारमा सफलता पाउन मेहनत र एकाग्रता चाहिन्छ । त्यसैको परिणाम हो यो एरिका कलेक्शन र एरिका बुटिक ।”

नेपालका फेसन डिजाइनर र लेडिज गार्मेन्ट सम्बन्धी अनुभवी व्यक्तिहरूबाट बजारमा आए अनुसारको नयाँ–नयाँ डिजाइनका फेशेनेवल कपडा, ग्राहकले खोजे जस्तै र रोजे जस्तै डिजाइनमा पहिरन उपलब्ध गराई सेवा दिनु आफ्नो मुख्य लक्ष्य भएको उनको भनाइ छ ।

तर विदेशबाट आयातीत सामानहरूका भन्सार जाँचपासमा कर्मचारीहरूले बिनाकारण दुख दिने गरेको भन्दै दुखेसो पोखिन् । उनी भन्छिन् , “यस्ता प्रवृतिले सरकारले महिलाद्वारा सञ्चालित उद्योग/व्यवसायलाई सहयोग हुनुपर्ने ठाउँमा उल्टो यस्तो अनावश्यक दुख दिनु दुखदायी भएको बताउँछिन् ।

को हुन् एन्जिला गौतम ?

एन्जिला गौतम मनोरञ्जन उद्योगका लागि नौलो नाम होइन । २०५५ सालमा प्रतिभा कला मन्दिरले आयोजना गरेको सांस्कृतिक कार्यक्रमदेखि उनले आफ्नो कलाकारिता सुरु गरेकी थिइन् । मनोरञ्जन उद्योगमै लागेर जीवनयापन गर्न सम्भव नभएपनि एन्जिलाले भने निरन्तरता दिइन् । उनले तुलसी घिमिरेको ‘देउता’ लगायतका चलचित्रमा अभिनय गरेका छिन् ।

त्यसबेला लगातार नेपाल टेलिभिजनबाट प्रशारित ‘विमान चालक’ लगायत निर्देशक दिनेश डि.सी र दीपक राज गिरीको निर्देशनमा बनेका दर्जनौ| टेलिचलचित्रहरूमा समेत अभिनय गरेकी छिन् ।

यतिमात्र होइन, कला र सङ्गीत औधी मन पराउने एन्जिलाको साङ्गीतिक यात्रा त्यति खेर सुरु भयो जब उनी एक साथीको गीति एल्बम उत्पादनमा सहयोगी बन्दै निर्माता सम्म बनिन् । त्यसै क्रममा उनले नेपालमा पहिलो पटक ‘प्यारोमोनिया’ नामक अङ्ग्रेजी गीति एल्बम बजारमा ल्याएकी थिइन् ।

अङ्ग्रेजी श्रोतामाझ उच्च लोकप्रियता हासिल गर्दै ‘विलण्ड भाग १ र २’, त्यस्तै ‘क्याटमाण्डु निष्ठा’ (नेपाली) लगायतका दर्जनौं चर्चित एल्बम र म्युजिक भिडियो उत्पादन गरी बजारमा ल्याउन सफल भएकी थिइन् ।

shares