Breaking News

प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

काठमाण्डौ, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिष्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक मत पनि खसेन भने विपक्षमा १० मत खसेको छ ।

संसदीय सुनुवाइ समितिमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू सन्तुष्ट हुन नसकेपछि जोशीको नाम अस्वीकृत भएको हो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश भएका छन् ।

समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिष्कार गर्नुको चार कारण लिखित रूपमै राखेका छन् । संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका भावमा नियुक्ति अस्वीकार गर्ने रायसँग कांग्रेसको गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेको कांग्रेसका सांसदहरूले बताए । कांग्रेसले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।

त्यस्तै बैठकमा जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच लिखित कारण दिएको नेकपा सांसद योगेश भट्टराईले जानकारी दिए । सुनुवाईका क्रममा जोशीले आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको उनले बताए ।

समितिले अब जोशीको नाम अनुमोदन नभएको जानकारी संवैधानिक परिषद्लाई गराउने छ । प्रधान न्यायाधीशमा अस्वीकृत भएपनि जोशी हाल वरिष्ठताका आधारमा कायम मुकायम प्रधान न्यायाधीश हुन् । संवैधानिक परिषद्को बैठकले अब जोशी पछिका वरिष्ठ ओमप्रकाश मिश्रलाई प्रधान न्यायाधीशको लागि सिफारिश गर्ने निश्चित छ ।

संविधानमा प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति अघि संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

shares