Breaking News

अमरदहबासी शोकमा डुबे, शव झिकाउन वडाध्यक्ष तामाङ्गले गरे एक लाख सहयोग

किरण न्यौपाने/रंगेली, १८ साउन । मोरङको सुनवर्सी नगरपालिका वडा नं.२ अमरदह बजार यति बेला शोकमा डुबेको छ ।

वैदेशिक रोजगारका सिलसिलामा दक्षिण कोरिया पुगेका स्थानीय २९ वर्षीय सन्तोष विष्टको गत जुलाई १२ मा सडक दुर्घटनामा परी मृत्यु भएको खबरसंगै अमरदहबासी शोकमा डुबेका हुन् । अझ मृत्यु भएको २५ दिन भइसक्दा पनि शव झिकाउन आवश्यक खर्च नहुँदा यति बेला उनको ६० वर्षीय बाबु नरेन्द्रबहादुर विष्ट, ५७ वर्षीया आमा चन्द्रमाया विष्ट र उनकी जीवन सङ्गिनी सरिता रोएर दिन बिताइरहेका छन् ।

बिष्ट दम्पत्तिले आफ्ना छोराको शव नेपाल ल्याउन अथक प्रयास गरेतापनि आर्थिक अभावका कारण समस्या भएपछि हाल बिष्ट दम्पत्तिले आफ्नो छोराको शव नेपाल ल्याइदिन सरोकारवाला निकाय र सरकारसँग आग्रह गरेका छन् । शोकले बिष्ट परिवारको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भने – ‘१३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन ।’ आखाँभरि आँशु पार्दै उनले भने  – ‘शव ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ?’

दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाइ छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको हो । सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नु पर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

सन्तोष दलालमार्फत दुबईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिसाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाइ छ ।

गाउँका आशलाग्दो युवकको दुर्घटनामा परेर मृत्यु भएपछि सुनवर्सी नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप तामाङले शुक्रबार घरमै पुगेर बिष्ट परिवारलाई १ लाख १ हजार नगद रुपैयाँ सहयोग गरेका छन् । निकै भावुक र आँखाबाट आँशु खसाल्दै आफ्नो वडाको बासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैसियतले आफूले व्यक्तिगत रकम सहयोग गरेको तामाङले बताए । लाश ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सहयोग सङ्कलनमा लागेका छन् ।

shares