Breaking News

सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन एवं बिक्रीमा रोक

दाङ, १८ साउन । घोराहीमा रहेको सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन पाइएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले उक्त सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ ।

गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्न निर्देशन जारी गरेको छ ।

सिमेन्ट गुणस्तरहीन पाइएकोले सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई समेत अनुरोध गरेको छ । उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालय बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागलार्इ अनुरोध गरेको थियो ।

विभागले सिमेन्ट गुणस्तरहीन भएको निश्चित् गरेपछि उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको हो । अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादनसमेत बन्द गराउन जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई अनुरोध गरेको छ ।

shares