Breaking News

जातीय पहिचानको सवाल उठाउँदा आफ्नो हत्याको प्रयास भएको प्रचण्डको खुलासा

काठमाण्डौ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जातीय पहिचानको सवाल उठाउँदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले बिहीबार काठमााडौंमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल विषयक कार्यक्रममा मोहन बैद्य किरणको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन् ।

पहिचानसहितका संघीयता र संघीयतासहितको संविधान नारा बोकेर आफूहरू निर्वाचनमा गएको र त्यही बेला आफूमाथि बम प्रहार भएको उनको भनाइ छ । उनले पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण जान्न अझैपनि ईच्छुक रहेको जिकिर गरे ।

उनले नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको बताए । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै उनले सबै जातजाति भाषाभाषी वर्ग समुदायको ऋण आफूमाथि रहेको बोध कायमै रहेको बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन बैद्यले शासनसत्ता र राज्यसत्ता पहिचानसहितको मुद्धामा गम्भीर नदेखिएको बताए । उनले राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको उल्लेख गरे ।

कार्यक्रममा जनजाति नेताहरूले पहिचानको मुद्धाका लागि निरन्तरको दबाब आवश्यक रहेको बताएका थिए ।

shares