Breaking News

कम्युनिष्टको पछाडि पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको प्रचण्डको भनाइ

काठमाण्डौ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको पछाडि ब्राकेटमा पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको बताएका छन् ।

तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले अब कम्युनिष्ट बीचको एकता तिव्र रूपमा अघि बढ्ने समेत बताए । अध्यक्ष दाहालले मुलुककै ठूलो कम्युनिष्ट एकतालाई असफल बनाउने खेल बढ्दै आएको समेत बताए ।

अध्यक्ष दाहालले भदौ ५ गते भित्र सबै तहको एकता हुने जानकारी दिंदै एकतापछि सबै केन्द्रीय तहका नेता स्थानीय तहसम्म पुगेर पार्टीको नीति तथा कार्यक्रम पुर्याउने जानकारी दिए । संघीयता अनुरुप निर्वाचन भएर तीन तहमा सरकार बनिसकेको अवस्थामा केही कमजोरी भए त्यसलाई सुधार गरेर अगाडि बढ्नु पर्ने सुझाव उनको थियो ।

कार्यक्रममा नेकपा नेता नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको माध्यम सामाजिक न्यायसहितको समृद्धि र समाजवाद उन्मुख समृद्धि भएको बताए ।

कार्यक्रमअघि नेताहरूले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा रहेको तुल्सीलाल अमात्यको शालिकमा माल्यार्पण गरेका थिए ।

shares