Breaking News

संसदीय सुनुवाई समितिको नियतमाथि नै प्रश्न उठेको छ: भीमार्जुन आचार्य

काठमाण्डौ, १७ साउन । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको पछिल्लो समयको नियतमाथि नै प्रश्न उठेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले समितिको अभिव्यक्ति र नियत हेर्दाखेरि न्यायालयलाई नियन्त्रण गर्न खोजिएको देखिएको बताए ।

आचार्यले न्यायाधीशको शैक्षिक प्रमाणपत्र लगायतका डकुमेन्टका विषयमा न्याय परिषदले अभिलेख राख्ने बताउँदै यो विषय सम्पूर्ण रूपमा न्याय परिषदले हेर्ने बताए । समितिले प्रस्तावित प्रधानन्यायाधीशको आचरण र नेतृत्व क्षमताबारे सोधपुछ गर्नुपर्ने भएपनि त्यो नसोधी विषयान्तर गरेको उनको आरोप छ । न्यायालयमा हस्तक्षेप भयो भने लोकतान्त्रिक सूचकहरू केही पनि बाँकी नरहने उनले बताए ।

साक्षात्कारमा (नेकपा) का राष्ट्रिय सभा सदस्य एवम् कानूनविद् रामनारायण बिडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध पार्टीले महाअभियोग लगाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारे । प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिका सदस्यहरूलाई स्वतन्त्र अधिकार रहेको उनको भनाइ छ ।

त्यस्तै नेपाल बार एशोसिएशनका महासचिव खम्बबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाइ समितिले न्यायालयलाई होच्याउने गरी प्रश्न सोधेको बताए ।

अर्का संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम दुई तिहाईले अस्वीकृत गरे त्यो वैधानिक हुने स्पष्ट पारे ।

shares