Breaking News

नेपालमा पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता हुने

काठमाण्डौ, १७ साउन । नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रूपमा आयोजना गर्न लागेको हो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आधीआवाधी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहवीच प्रतियोगिता आयोजना सम्बन्धी सम्झौता भयो ।

१० वर्षसम्म कायम हुने सम्झौता अनुशार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । यससँगै प्रतियोगिता संचालनका लागि आधाआवाधीले प्रायोजक समेत आफैं खोज्नेछ । यस्तै नेपाल भलिबल संघलाई प्रत्येक वर्ष १५ लाख समेत प्रदान गर्नेछ ।

प्रतियोगिताको विजेताले ६ लाख पाउनेछन् भने दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले एक लाख ५० हजार हात पार्नेछन् । यो रकम नेपालकै सर्वाधिक पुरस्कार राशीसमेत हो । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान टिभीएस स्कुटर र नगद ५० हजार जित्नेछ । प्रतियोगितामा तीन विभागीय टिमसहित ६ टिमको सहभागिता रहनेछ । विभागीय बाहेक बाँकीलाई फ्रेन्चाइजी टिमको संरचनामा लगिनेछ ।

नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभूवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौं क्वीन्स र पोखरा पिन्केजले प्रतियोगिता खेल्नेछन् । विभागीय बाहेक तीन टिमका लागि मालिकको खोजी भइरहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

आगामी अक्टोबरको पहिलो साता हुने भनिएको प्रतियोगिताको मिति भने केही समयमा तय हुने नेपाल भलिबल संघका महासचिव चन्दले जानकारी दिए ।

shares