Breaking News

कांग्रेसले बैठक नै बहिष्कार गर्नुपर्ने कुनै कारण थिएन: सभामुख

काठमाण्डौ, १७ साउन । सभामुख कृष्णबहादुर महराले संसद सञ्चालन नियमावली अनुसार नै कांग्रेसको बहिष्कारपछि पनि प्रतिनिधिसभाको बैठक अघि बढाएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख महराले प्रमुख प्रतिपक्षीले मात्र बैठक बहिष्कार गरेको र अन्य प्रतिपक्षी दलका सांसद बैठकमा नै भएकोले बैठक नरोकिएको बताए । उनले कांग्रेसले बैठक नै बहिष्कार गर्ने कुनै कारण नै नभएको बताए । मन्त्रीसंग प्रश्नोत्तर गर्ने व्यवस्था सुरु नै नभएको भन्दै उनले जानकारीमुलक विषयमा प्रश्न गर्नु जरुरी नभएको दाबी गरे ।

यता कांग्रेसका सांसदहरूले संसदभित्र प्रश्न सोध्न रोक लगाएका कारण सांकेतिक विरोध स्वरुप बैठक बहिष्कार गरेको बताएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय अभ्यास कुल्चने प्रयास भएको भन्दै अहिलेको सत्ता सर्वसत्तावादतर्फ उन्मुख भएको तर्क गरे । त्यस्तै कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले कांग्रेसको विचारलाई सदनभित्र पटक-पटक रोक लगाउन खोजेको भन्दै आपत्ति जनाए ।

उनले सत्तापक्षले संविधानमा नै उल्लेखित अधिकार कुण्ठित गर्न खोजेको आरोप पनि लगाए ।

shares