Breaking News

राजपा सांसद प्रमोद साहको अभिव्यक्तिले संसदमा विवाद

काठमाण्डौ, १७ साउन । राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहले प्रधानमन्त्री र सभामुख दुवै जना ’हत्यारा’ भएको अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा बैठकमा विवाद भएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राजपा सांसद रेशम चौधरीलाई सपथ नगराएको विषयमा सांसद साहले उक्त अभिव्यक्ति दिएका हुन् । मुलुकमा धेरै मान्छे मारेर प्रधानमन्त्री र सभामुख भएको र अपार मत ल्याउँदा ल्याउँदै पनि रेशम चौधरीलाई किन सपथ गराइँदैन भनी प्रश्न गरेका थिए ।

सांसद साहले बोलेपछि नेकपाका सांसदहरूले नियमापत्ति गरेका थिए । साहले बोलेपछि बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद साहको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

त्यसको विरोध गर्दै सांसद साहले आफूले उक्त अभिव्यक्ति हटाउन लगाइएको भन्दै प्रतिप्रश्न गरेका थिए ।

shares