Breaking News

नेपालको विकास आयोजनाको प्रगति सन्तोषजनक छैन: एडीबी

काठमाण्डौ, १७ साउन । एसियाली विकास बैंक (एडीबी)ले नेपालको खानेपानी र नागरिक उड्ययन क्षेत्रको विकास आयोजनाको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै सरकारले त्यसमा बढी ध्यान दिनुपर्ने जनाएको छ ।

बिहीबार काठमाडौंमा आयोजना गरिएको एडीबी, नेपाल सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय समीक्षा बैठकको उदघाटनका क्रममा एडिबीका डेपुटी डाइरेक्टर जनरल दिवश शरणले ती आयोजनामा अहिलेकै रफ्तारमा काम हुँदा समयमै सम्पन्न हुन सक्ने अवस्था नरहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

त्रिभुवन विमानस्थल, गौतम बुद्ध विमानस्थल, मेलम्ची र काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाको काम सन्तोषजनक नरहेको उनको भनाइ छ । उनले वातावरणसँग सम्बन्धित र अन्य आयोजनाको तयारी र कार्यान्वयनसँग सम्बन्धित विषयहरूका कारण काममा ढिलाइ भएको बताए । उनले काममा ढिलाइ भएका कारण विनियोजित बजेट खर्चमा समेत प्रभाव पारेकाले तयारीका काम छिट्टै सक्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्थ मन्त्रालयका सचिव राजन खनालले दातृनिकायका सहयोगमा सञ्चालित कार्यक्रम कार्यान्वयनमा सरकाले कार्ययोजना तयार गरिरहेको र त्यही कार्ययोजनाले नै सबै सवाललाई सम्बोधन गर्ने धारणा राखे । आयोजनाको तयारी, कार्यान्वयनको मोडालिटी र अन्य कामहरू समयमै सक्ने विधि कार्य योजनाले तय गरेको उनको भनाइ छ ।

कार्यक्रममा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखनोभले नेपालमा एडीबीको ऋण, अनुदान र प्राविधिक सहायतासमेत गरी सहयोगको आकार २ अर्ब ३४ करोड अर्ब अमेरिकी डलर पुगेको जानकारी दिए । एडीबीले दिएको सहयोगमध्येबाट १० करोड ८० लाख डलर भुक्तानी भएको छ । एडिबीले यो वर्ष ४४ करोड ७० लाखको ठेक्का लाग्ने र ३३ करोड ८० लाख डलर भुक्तानी हुने अनुमान गरेको छ ।

shares