Breaking News

पर्यटन प्रवर्द्धनका लागि छोटा दुरीका रेल्वे: अर्थमन्त्री

काठमाण्डौ, १७ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन प्रवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार सिंहदरबारमा आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रिया कार्यक्रममा मन्त्री खतिवडाले नागढुंगा–धुलिखेलको रेल सञ्चालनको योजना अघि सारेकोे भन्दै यस्तै प्रकारका ५० किलोमिटरसम्मको छोटो दुरीको रेल सेवाको अध्ययन गर्नुपर्ने बताएका हुन् ।

उनले हवाई र सडक मार्गबाट पर्यटन भित्रिरहेको भन्दै अन्तरदेशीय रेल सेवा सुरु गर्न सके पर्यटकको संख्या निकै बढ्न सक्ने उल्लेख गरे । त्यस्तै उनले नेपालको हवाइ सेवाको गुणस्तरीयताको वृद्धिका साथै थप अन्तरदेशीय हवाइमार्गको पनि अध्ययन गर्न सुझाव दिए ।

मन्त्री खतिवडाले पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्न दक्ष जनशक्तिको आवश्यकता पर्ने र निजी क्षेत्रसंग पनि समन्वय गर्दै अघि बढ्नुपर्ने बताए । मुलुकको आर्थिक समृद्धिको सपना पूरा गर्नका लागि पर्यटन प्रवर्द्धन र उद्योग नै उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पर्यटन क्षेत्रको विकासको योजना सबैको योजना भएकाले समृद्ध नेपाल निर्माणको महाअभियानमा कोही छुट्न नहुने बताए । उनले तीनै तहको सरकार एकजुट भएर मुलुकको विकासमा लाग्नुपर्ने धारणा राखे ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले मुलुकको पर्यटन प्रवर्द्धनका लागि योजना निर्माणका लागि केन्द्रका साथै प्रदेशका उद्योग पर्यटन र वन तथा वातावरण मन्त्रालयका मन्त्रीहरूसंग छलफल गरेको हो ।

shares