Breaking News

आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट खेलमा नेपाल नेदरल्याण्ड्ससंग ५५ रनले पराजित

काठमाण्डौ १७ साउन । नेपाल आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट खेलमा पराजित भएको छ ।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट खेलमा नेपाल नेदरल्याण्ड्ससंग ५५ रनले पराजित भएको हो । १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनमै समेटिएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरी ३३, अनिल शाह २१ र कप्तान पारस खड्काले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका चार ब्याट्सम्यान शुन्य रनमा पेभेलियन फर्केका थिए । बलिङमा नेदरल्याण्ड्सका माइकल रिप्पोन, पिटर सिलर र फ्रेड क्लासेनले समान तीन–तीन विकेट लिए ।

नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७.४ ओभरमा अलआउट हुँदै १ सय ८९ रन बनाएकाे थियो  । नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ५१ रन जोड्न सफल भए भने माइब्रुगले २९ रन र लिडीले ३० रनको योगदान दिए ।

नेदरल्याण्ड्सलाई मध्यम योगफलमै समेट्न नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । दश ओभर बलिङ गर्दै खड्काले २६ रन खर्चिएर चार विकेट हात पारे । त्यस्ते सोमपाल कामीले तीन विकेट लिए ।

नेदरल्याण्ड्सका माइकल रिप्पोन म्यान अफ द म्याच चुनिए । नेपालले नेदरल्याण्ड्ससंग दोस्रो तथा अन्तिम एकदिवसिय खेल भोलि खेल्नेछ ।

shares