Breaking News

नेपालसामु नेदरल्यान्ड्सद्वारा १ सय ९० रनको चुनौती पेस

नेदरल्यान्ड्स, १६ साउन । पहिलो एकदिवसीय खेलमा नेपालसामु नेदरल्यान्ड्सले १ सय ९० रनको चुनौती पेस गरेको छ ।

नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४७.४ ओभरमा अलआउट हुँदै १ सय ८९ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ५१ रन जोड्न सफल भए भने माइब्रुगले २९ रन र लिडीले ३० रनको योगदान दिए ।

नेपालका लागि उत्कृष्ट बलिङ गरेका कप्तान पारस खड्काले ४ विकेट लिए । सोमपाल कामीले ३ विकेट झारे । सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट लिए ।

सोमपाल ड्यानियल टेर ब्राकलाई १ रनमा बोल्ड गर्दै नेपालका लागि एकदिवसीय खेलमा पहिलो विकेट लिने खेलाडी बने । कप्तान पारस खड्काले आठौं ओभरमा बेन कुपरलाई २० रनमा आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । १२ औं ओभरमा सन्दीपले माइब्रुगलाई २९ रनलमा बोल्ड गरेपछि खेलमा नेपाल छाएको थियो ।

१५ ओभरमा कप्तान पारस खड्काले नेपालका चौथो विकेट लिए । उनले बारेसीलाई १२ रनमा आउट गरे । नेदरल्यान्ड्सले ४ विकेट गुमाउँदा ७२ रन जोडेको थियो । तर नेदरल्यान्ड्सले पाँचौ विकेटका लागि ५८ रनको साझेदारी गर्यो । ३४ ओभरमा पाँचौ विकेट लिने क्रममा सोमपालले लिडीलाई ३० रनमा आउट गरेका थिए ।

४ ओभरपछि बसन्तले नेदरल्यान्ड्सका कप्तान पिटर सीलारलाई ५ रनमा आउट गरे । ४० औं ओभरमा कप्तान पारसले २ विकेट लिन सफल भए । उनले मिचेल रिप्पोनलाई ५१ तथा स्नटेरलाई शून्य रनमा आउट गरेका थिए ।

एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गरेको हो । नेदरल्यान्ड्सँग बुधबार खेलेपछि नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बनेको छ । गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेको थियो।

shares