Breaking News

साफ च्याम्पिनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने

काठमाण्डौ, १६ साउन । अर्को महिना बंगलादेशमा हुन लागेको साफ च्याम्पिनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

साउथ एसियन फुटबल फेडेरेसन साफले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो ।

नेपाल र पाकिस्तानबीच हुने खेल भदौ १९ गते दिउँसो ४ बजे ढाकाको बंगबन्धु स्टेडियममा हुनेछ । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल भदौ २३ गते आयोजक बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा समुहका शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपको फाइनल भदौ ३० गते हुनेछ । आसन्न एसियन गेम्स् र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगिताको तयारी र अभ्यास खेलका लागि नेपाली टोली यहि हप्ता थाइल्यान्ड जाँदैछ ।

shares