Breaking News

नेपाली हवाइ क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरें: परराष्ट्रमन्त्री

काठमाण्डौ, १६ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो युरोप भ्रणमका क्रममा युरोपेली कमिसनले नेपाली हवाइ क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको बताएका छन् ।

१० दिन लामो युरोप भ्रमणबाट स्वदेश फर्किएलगत्तै बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले पोर्तुगलसहितका बेल्जियम र लक्जम्वर्ग भ्रमणका क्रममा युरोपेली कमिसनले नेपाली हवाइ क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेकोे जानकारी दिए ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले पोर्चुगलका समकक्षी अगस्तो सान्तोष सिल्भासँग द्वीपक्षीय भेटवार्ता गरेका थिए । भेटका क्रममा दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्न तथा साझेदारीका नयाँ आयाम पहिचानका लागि द्वीपक्षीय परामर्श संयन्त्र गठन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीलेले बेल्जियम भ्रमणका क्रममा त्यहाँका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डिडियर रियन्डरसँग द्वीपक्षीय भेटवार्ता भएको जानकारी दिए । बेल्जियमका विदेशमन्त्रीसँग समेत लगानी अभिवृद्धि, व्यापार विस्तारसहितका विषयमा छलफल भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री ज्ञवालीले लक्जम्वर्गका आर्थिक सहयोग तथा मानवीय मामिलामन्त्री रोमाइन स्चिनेइडरसँग भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले युरोपले नेपालप्रति चासो राखेको भन्दै उनले नेपालको विदेश नीति, लगानीको नीति, नयाँ सरकारको कार्यक्रमलगायतका विषयमा उनीहरूको चासो रहेको बताए । युरोपमा व्यापार विस्तारका लागि थप प्राथमिकतामा राख्न आग्रह गरेको उनले बताए ।

shares