Breaking News

पहिचानसहितको मुद्धालाई स्थापित गर्न दबाब स्वरुप विश्व आदिवासी दिवस मनाउने तयारी

काठमाण्डौ, १६ साउन । नेपाल आदिवासी जनजाति महासंघले २४ औं विश्व आदिवासी दिवस पहिचानसहितको मुद्धालाई स्थापित गर्न दबाब स्वरुप मनाउने भएको छ ।

आदिवासी जनजातिहरूको बसाइसराई र स्थानान्तरण भन्ने नाराका साथ विश्वभर दिवस मनाइरहँदा नेपालमा भने “अधिकार प्रतिनिधित्व, स्वायतत्ता, स्वशासनका लागि आदिवासीको अडानः मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने नाराका साथ मनाउन लागिएको हो ।

हरेक वर्ष अगष्ट ९ तारिखका दिन मनाइने विश्व आदिवासी दिवसका बारेमा जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आदिवासी जनजातिको अधिकार स्थापित गराउन दबाब दिंदै भब्य रूपमा मनाउन दिवस मनाउन लागेको जानकारी दिएको छ । केन्द्रीय स्तरमा महासंघको केन्द्रीय सचिवालयले २०७५ श्रावण १६ गतेदेखि २७ गतेसम्म विभिन्न कार्यक्रम सहित वृहत समारोह आयोजना गर्ने महासंघले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जगत बहादुर बरामले नेपालमा रहेका ३७ प्रतिशत आदिवासी जनजातिको अधिकार र पहिचान स्थापित नगरेसम्म सुखी नेपाली र समृद्ध नेपालको नारा सफल हुन नसक्ने बताए । उनले समयमा नै आफूहरूको अधिकार स्थापित नगरे मुलुक द्वन्द्वमा जान सक्ने चेतावनी दिए ।

महासंघले काठमाडौंमा आदिवासी जनजातिका जातीय संगठन, सूचिउन्मुख संगठनहरू र सम्बन्धन प्राप्त संगठनहरू बीचमा दिवस मनाउने र काठमाडौ बाहिरका जिल्लाहरूमा विभिन्न प्रचार प्रसार, गोष्ठी, सभासम्मेलन र अन्तरक्रियात्मक कार्यक्रमहरूसहित भव्यताका साथ दिवस मनाउने जनाएको छ ।

shares