Breaking News

सरकार संवैधानिक व्यवस्थाहरू तोड्न उद्धत: खतिवडा

काठमाण्डौ, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले वर्तमान सरकार संविधानको कार्यान्वयन गर्न भन्दापनि संवैधानिक व्यवस्थाहरू तोड्न उद्धत रहेको आरोप लगाएकी छिन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खतिवडाले सरकारमा दुई तिहाईको दम्भ देखिएको भन्दै स्वतन्त्र न्यायालयमाथि ठाडो सरकारी हस्तक्षेप बढिरहेको बताइन् । सांसद खतिवडाले संविधानको व्यवस्था बाहिर गएर अहिले सभामुख र उपसभामुख एउटै पार्टीको हुनुपनि दुःखद् रहेको गुनासो पोखिन् ।

त्यस्तै उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रकरणमा पनि अहिले गम्भीर चलखेल भैरहेको आरोप लगाइन् । नेपाल महिला संघकी महासचिव समेत रहनुभएकी नेतृ खतिवडाले शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा १५३ अनुसार पद रिक्त भएको भनिनेबाहेक अन्य कारणबाट हटाउन नपाइने व्यवस्था भएकोले सरकारको त्यतातर्फ ध्यानाकार्षण गराइन् ।

त्यस्तै सरकारले अन्धाधुन्ध सबै क्षेत्रमा कर बढाएकोप्रति पनि उनले आपत्ति जनाइन् ।

उनले सरकार र प्रा.डा. गोविन्द केसीबीच हालै भएको सहमतिको अक्षरशः पालना हुनुपर्नेमा जोड दिइन् । त्यस्तै काभ्रेमा ९ वर्षकी बालिकाको बलात्कारछि हत्या गरिएको घट्नाप्रति पनि सरकार संवेदनशील बन्न नसकेको उनले गुनासो गरिन् ।

shares