Breaking News

सरकार प्रतिगमनकारी भएको नयाँ शक्तिको अारोप

काठमाण्डौ, १६ साउन । नयाँ शक्ति पार्टी, नेपालले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएको छ ।

नयाँ शक्ति पार्टी, नेपालको राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारको काम र कदम प्रतिगमनकारी र अकर्मण्यता भएको जनाएको हो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानविन गर्नुपर्ने, ठेकेदारमाथि कारबाही गर्नुपर्ने माग परिषद्को छ ।

त्यस्तै उनीहरूले सुनकाण्डको छानबिनलाई तत्काल निष्कर्षमा पुर्याउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मूल्यवृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानविन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्ने लगायतका मागहरू अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले सर्वहारा वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाहरूको कब्जामा रहेको आरोप लगाइन् ।

संविधानको कार्यान्वयन र मौलिक हकसम्बन्धी कानून निर्माण गरेर जनताका हक सुनिश्चित् गर्नुपर्ने कार्यभारलाई थाँती राख्दै नाफा, सेवा, सुविधा सत्ता एकाधिकारको विधि निर्माणमा सरकार लागिरहेको उनको भनाइ छ ।

वर्तमान सरकारले पछिल्लो समय मूल्यवृद्धि, करमा वृद्धि, बलात्कारका घट्नामा २२ प्रतिशतले वृद्धिजस्ता उपहारहरू जनतालाई थमाउने काम गरेको आरोपसमेत उनले लगाइन् ।

नयाँ शक्ति पार्टी नेपालले उठाएका मागहरूमा एक्येबद्धता जनाउँदै राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक जेबी शाहले सरकार सञ्चालन गरिरहेको नेकपा पार्टीलाई सर्वहाराको पार्टी भन्न नमिल्ने बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका विज्ञ परिषदका संयोजक डा. केशवमान शाक्य, गण्डकी प्रदेशका प्रदेश सांसद हरिशरण आचार्य लगायतले सरकारको क्रियाकलापको विरोध गरेका थिए ।

shares