Breaking News

‘हिमालय रोडिज’को दोस्रो संस्करण प्रसारण सुरु

काठमाण्डौ, १६ साउन । बहु प्रतिक्षित रियालिटी शो ‘हिमालय रोडिज’को दोस्रो संस्करण प्रसारण सुरु भएको छ । सोमबार साँझ अाठ बजेदेखि हिमालय टेलिभिजनमार्फत् प्रसारण सुरु भएको यो एडभेन्चर रियालिटी शोले युट्युबमा पनि छोटो समयमा अत्याधिक लोकप्रियता कमाइरहेको छ ।

हिमालय रोडिजका गत संस्करणका विजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रस्तोताका रूपमा देखिएका छन् भने रेमनदास श्रेष्ठ, दिया मास्के र अशिष राना ‘लाउरे’ यस वर्ष पनि निर्णायकको भूमिकामा प्रस्तुत भएका छन् ।

युवाहरूलार्इ लक्षित गरी बनाइएको यस रियालिटी शो उत्तिकै विवादित पनि भइरहेको छ । पहिलो श्रृंखला, चितवन अडिसनमा प्रस्तुत गरिएका विशेष गरी यौन हिंसा र सुरक्षित यौन सम्बन्धका प्रसंगहरूलार्इ दर्शकहरू पक्ष विपक्षमा विभाजित भर्इ अाफ्ना तर्कहरू दिइरहेका छन् । खुल्नु पर्ने तर समाजमा सजिलै खुलेर गर्न नसकिने कुराहरूलार्इ यस शोको माध्यमबाट सशक्त ढङ्गले प्रस्तुत गरिएको निर्देशक अमन प्रताप अधिकारीले जनाएका छन् ।

कुल अठार श्रृंखलामा प्रसारण हुने यस रियालिटी शोमा पाँच श्रृंखला, पाँचवटा सहर चितवन, बुटवल, पोखरा, इटहरी,  र काठमाण्डौमा गरिएको अडिसन राउण्ड हुनेछ भने बाँकी १३ श्रृंखलामा जर्नी राउण्ड हुनेछ । विजेताले बीस लाख रुपैयाँसम्मको नगद र यामाहा एफ जेड-२५० सीसी मोटर साइकल प्राप्त गर्नेछन् ।

हरेक साता सोमबार साँझ अाठ बजे प्रसारण हुने यो रियालिटी शो युट्युबमा पनि हिमालय रोडिजको च्यानलमा हेर्न सकिन्छ । भारत लगायत दक्षिण एशियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रियालिटी शो एम टिभी रोडिजको फ्रेन्चाइज हो ।

shares