Breaking News

संसदीय समिति गठनमा ढिलाइ गरेपछि शीर्ष दलको आलोचना

काठमाण्डौ, १६ साउन । कानून निर्माण नै प्रभावित हुनेगरी संसदीय समिति गठनमा ढिलाइ गरेपछि शीर्ष दलको आलोचना सुरु भएको छ ।

संसदीय समितिमा रहने सांसदहरूको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) , नेपाली कांग्रेस र अन्य दलहरूले बुझाइसकेपछि समितिको सभापतिका विषयमा सहमति जुट्न नसक्दा संसदीय समिति गठनमा ढिलाइ भएको हो । समयमा नै संसदीय विषयगत समितिहरू गठन नहुँदा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण प्रभावित भएको छ ।

कांग्रेसले प्रतिनिधिसभामा तीन र राष्ट्रिसभामा एक गरी चारवटा समितिको सभापति दाबी गरेको छ । नेकपा भने संसदीय समिति गठन गरेपछि मात्रै सभापतिबारे छलफल गर्ने मनस्थितिमा छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले समिति गठन छिटै हुने भन्दै यसमा विवाद नरहेको दाबी गरे । उनले सभापतिको विषय समिति बैठक भित्रैबाट टुङ्गिने विश्वास व्यक्त गरे ।

त्यस्तै कांग्रेसका नेता दिलेन्द्र बडुले आफूहरूले समितिमा रहने सदस्यहरूको नाम बुझाइसकेको भन्दै अब समिति गठन प्रक्रिया अघि बढ्ने बताए । विधेयकहरू अघि बढाई कानून निर्माण गर्ने विषयमा समिति क्रियाशील हुने उनको भनाइ छ ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र संयुक्त समिति गरी १६ वटा विषयगत समिति निर्माण हुने व्यवस्था छ । प्रतिनिधिसभामा १० वटा र राष्ट्रियसभामा ४ वटा समिति रहने व्यवस्था गरिएको छ । दुईवटा समिति भने दुवै सदनको संयुक्त रूपमा दुई सदन रहनेछ ।

shares