Breaking News

संसदमा सांसदहरूको गुनासो

काठमाण्डौ, १६ साउन । संघीय संसदमा आफूहरूले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीबाट आउन नसकेको भन्दै सांसदहरूले गुनासो गरेका छन् । प्रतिनिधिसभाको शून्य र विशेष समयमा उठाएका विषय र विभिन्न सवालहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनुपर्ने भएपनि त्यसो हुन नसकेको उनीहरूको भनाइ छ । संसदमा विशेष परिस्थिति बाहेकका विषयमा उठेका प्रश्नको जवाफ मन्त्रीहरूबाट आउन नसकेको सांसदहरूले बताए ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेतृ पम्फा भूषालले बैठकमा एक पटक उठाएको विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ आउन नसक्दा पटक पटक एकै विषयलाई बारम्बार उठान गनुपर्ने बाध्यता भएको गुनासो गरे । उनले सभामुखले रुलिङ गर्दा पनि मन्त्रीहरूबाट सांसदको जवाफ नआएको जिकिर गरे ।

त्यस्तै नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले मन्त्रीहरूमा जिम्मेवारीको बोध नभएका कारण यस्तो अवस्था आएको हुन सक्ने भन्दै सदनको नियमावलीलाई नै बेवास्ता गरिएको बताए । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले संसदको नियमावली नै कार्यान्वयन नभएको गुनासो गर्दै छिट्टै सवालजवाफको विषयलाई सुचारु हुने आश्वासन सभामुखले दिनुभएको बताए ।

शून्य र विशेष समयमा आएका विषयलाई सम्बोधन नगरिएको भन्दै सांसदहरूले आवाज उठाएपछि केही दिनअघि सभामुख कृष्णबहादुर महराले संसदमा उठेका विभिन्न सवालहरूको जवाफ दिन सरकार तथा मन्त्रीहरूलाई रुलिङ गरेका थिए । प्रतिनिधिसमा नियमावलीको दफा १५ उपनियम (२) संसदमा उठेका कुनै पनि विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र लिखित वा मौखिक रूपमा दिनुपर्ने व्यवस्था गरेको छ ।

shares