Breaking News

 नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण

दाङ, १६ साउन । दाङस्थित नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनर्निर्माण सुरु गरेको हो ।

इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनर्निर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनर्निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। ‘अब पाँचवटा सीमास्तम्भ पुनर्निर्माण गर्न बाँकी छ’, उनले भने ।

नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनर्निर्माण गरिएको हो । जसमध्ये नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनर्निर्माण गरेको छ ।

‘हामीले अब चारवटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनर्निर्माण गर्न बाँकी छ’, सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले भने। भारतसीत जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ छन् । -रासस

shares