Breaking News

दुई देशबीचको सहमतिपछि मात्र नेपाली श्रमिकलाई मलेसिया पठाइने

विराटनगर, १५ साउन । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकको हकअधिकार सुरक्षित एवं व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालबाट कामदार पठाउँदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए ।

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिऊन् भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे । उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १ सय ७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्नेे बताए ।

shares