Breaking News

प्रधानन्यायाधीशको नाम सर्वसम्मतिमा नै टुंगो लगाइन्छ: कर्ण

काठमाण्डौ, १५ साउन । संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे भोलि समितिले सर्वसम्मतिले निर्णय गर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजपा नेपालका शीर्ष नेतासमेत रहेका कर्णले प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मतिमा नै टुंगो लगाउने भनेर नै बैठकको मिति सारेको जानकारी दिए ।

कर्णले आफूहरूले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई बडो आदरपूर्वक, सम्मानित र मर्यादित प्रश्नमात्रै सोधेको बताए । समितिमा रहेका सदस्यहरूको आ–आफ्नै राजनीतिक आस्था र विचार भएपनि आफूहरूले सर्वसम्मतिमै निर्णय गर्ने कोशिश गरिरहेको उनले बताए ।बाहिर आरोप लगाइएजस्तो संसदीय सुुनुवाई प्रक्रियामा आफूहरूले कुनै किसिमको ढिलाइ नगरेको कर्णले स्पष्ट पारे ।

त्यस्तै संसदीय सुनुवाइ समितिका सदस्य सुनमराज प्याकुरेल प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशी अहिलेको संविधानअनुसार प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दाबी गरे । उनले जोशीको जवाफ चित्तबुझ्दो नरहेको उल्लेख गरे । साक्षात्कारमा बार एशोसियसनका अध्यक्ष शेर बहादुर केसीले संवैधानिक परिषद्बाट सिफारिस भएको व्यक्तिलाई सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने जिकिर गरे ।

उनले स्वतन्त्र न्यायपालिकामाथि कसैले हस्तक्षेप गर्न नहुने भन्दै यसका लागि सबै सचेत हुनुपर्ने धारणा पनि राखे ।

shares